बुटवल,बैसाख १० ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पत्रकारिता देशको सम्मानित पेशा भएको बताउनुभएको छ । महिलाहरु पनि यहि पेशामा स्थापित हुनु गौरवको विषय भएको बताउनुभयो ।
समाजमा भएका लैंगिक हिंसा र असमानता विरुद्ध निरन्तर समाचार लेख्न उहाको सुझाव छ । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दुषित बनाएको बताउदै उहाले यसविरुद्ध पत्रकार महिलाहरु अभियानका रुपमा लाग्न उहाँको आग्रह छ ।
संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार महिलाहरुका लागि लैंगिकमैत्री समाचार संप्रेषण सम्बन्धी तालिमको अवसरमा आयोजना गरेको आम सञ्चार र पत्रकार महिलाको क्षमता अभिबृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले पत्रकारको सीप र क्षमता विकासमा राज्यले समेत लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको दरिलो उपस्थिति हुनुपर्ने बताउनुभयो । संचारमाध्ययममा महिला भएभने मात्रै आवाजविहीनहरुको आवाज उठाउन र महिलाहरुका आवाज बुलन्द पार्न सजिलो हुने उहाले बताउनुभयो ।
उहाँले सरकारका हरेक संरचनामा महिलाको संख्या बढाउन, महिलामैत्री नीति कार्यक्रम ल्याउन पत्रकार महिलाहरुले संचारबाट वकालत गर्न समेत आग्रह गर्नुभयो । विषयगत ज्ञान र व्यवसायिक सीप बढाउने विषयमा पत्रकार महिलाहरुलाई सरकारले सधै सहयोग गरिरहने बताउदै उहाले यसले लैंगिकमैत्री समाचार संपे्रषण हुने अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपसभामुख कृष्णी थारुले यो वा त्यो ढंगमा पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकार समेत खोस्ने काम भएको बताउदै त्यसका विरुद्ध आवाज उठाउन आग्रह गर्नुभयो । गठबन्धनका नाममा स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने अवसर खोसिन लागेको बताउदै उहाले यस्तो हुन नदिन पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले ल्याएका लैंगिकमैत्री नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभयो ।
उहाले प्रदेश सरकारले हरेक बजेटलाई लैंगिकमैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासंग छलफल समेत थालेको बताउनुभयो ।
तालिम सहजीकरण गर्दै वरीष्ठ पत्रकार संचारिका समुह नेपालका पूर्व अध्यक्ष बबिता बस्नेतले लैंगिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यवसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा सहजीकरण गर्नुभयो । उहाले पुरुषको तुलनामा महिला स्थापित हुन समस्या र चुनौति हुनेभएपनि त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने सुझाब दिनुभयो ।

पत्रकार इन्दिरा अर्यालले रेडियोमा लैंगिकताको विषय र त्यसको उठानबारे सहजीकरण गर्नुभयो । उहाले रेडियो अन्तरवार्ता र रिपोर्टहरुमा कस्ता विषय छनोट गर्ने र त्यसलाई कसरी बनाउने भन्नेबारे जानकारी गराउनुभयो ।
स्वास्थ्य निर्देशनालयका फोकल पसर्न कौशलराज भण्डारीले प्रजजन स्वाथ्य, परिवार योजना र सुरक्षीत मातृत्वबारेमा सहजीकरण गर्नुभएको थियो । पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रदेश सरकार, तिनका संरचना र कार्यक्रमबारे कसरी समाचार बनाउन सकिन्छ भन्नेबारेमा सहजीकरण गर्नुभयो ।
संचारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले लैंगिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराउनुभयो । भने साे तालिममा लुम्बिनी प्रदेशभित्रमा १२ मध्ये ६ जिल्लाका ६० पत्रकार महिलाहरु सहभागी थिए । तालिम २ दिन चलेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)