Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देही २ मा कांग्रेसका चुन्नप्रसाद पौडेलद्वारा २२ बुँदे प्रतिबद्धता सार्वजनिक

रूपन्देही २ मा कांग्रेसका चुन्नप्रसाद पौडेलद्वारा २२ बुँदे प्रतिबद्धता सार्वजनिक

  • 1.6K
    SHARES

  • रूपन्देही २ मा कांग्रेसका  चुन्नप्रसाद पौडेलद्वारा २२ बुँदे प्रतिबद्धता सार्वजनिक

    बुटवल,फागुन ५ ।

    रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद पौडेलले सैनामैना नगरपालिका–३ स्थित आफ्नो प्रचारप्रसार सम्पर्क कार्यालयबाट घोषणा पत्र सार्वजनिक गरेका छन्।

    फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
    कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले आफ्नो घोषणा पत्र केवल कागजी प्रतिबद्धता नभई व्यवहारमा उतार्ने कार्ययोजना भएको बताए। उनले लोकतान्त्रिक मूल्य, आदर्श र जनताको सुखद जीवन सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै विगतका कमी कमजोरीप्रति आत्मसमिक्षा गरेका छन्।IMG_5825.jpeg
    घोषणा पत्र सार्वजनिक कार्यक्रममा युवराज गिरी संयोजक र लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर केसीले पनि सम्बोधन गरेका थिए। युवराज गिरीले घोषणा पत्र तयार पार्दा स्थानीय जनताको सुझाव, आवश्यकता र क्षेत्रको यथार्थ अवस्थालाई आधार बनाइएको जानकारी दिए भने चित्रबहादुर केसीले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै विकासका योजनाहरू अघि बढाइने उल्लेख गर्दै उम्मेदवार पौडेललाई विजयी गराउन मतदातासँग आग्रह गरे।
    कार्यक्रममा नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार रिता सेन ओली, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी नेताहरूले घरदैलो मार्फत मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई निरन्तरता दिइने बताए।
    शिक्षा र स्वास्थ्यमा प्राथमिकता:
    पौडेलले सरकारी विद्यालयको स्तरोन्नति गरी कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउने वातावरण बनाउने प्रतिबद्धता जनाए। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने तथा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच लाख रुपैयाँसम्मको उपचार सरकारी, संस्थागत र निजी अस्पतालमा उपलब्ध गराउने योजना उनले सार्वजनिक गरे।
    क्षेत्र नं. २ का सरकारी अस्पतालहरूको स्तर वृद्धि गरिने र कुनै पनि नागरिक उपचारको अभावमा ज्यान गुम्न नपरोस् भन्ने सुनिश्चित गर्ने उनको भनाइ थियो।
    भूमिहीन, सुकुम्बासी र पूर्वाधार:
    अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान गर्दै दुई वर्षभित्र क्षेत्रका भूमिहीन नागरिकलाई जग्गा व्यवस्थापन गरिने उनले बताए। बस्तीबीचबाट गुज्रिएको हाईटेन्सन लाइन हटाउन पहल गरिने, शुद्ध खानेपानीको व्यवस्था मिलाइने र पूर्व–पश्चिम राजमार्ग विस्तारका कारण उत्पन्न डुबान समस्या समाधान गरिने योजना पनि घोषणा पत्रमा समेटिएको छ।
    बुटवल बजार क्षेत्रमा सवारी साधनको व्यवस्थित र सुरक्षित पार्किङ व्यवस्था मिलाउने तथा राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
    कृषि, रोजगारी र डिजिटल प्रविधि :
    कृषिलाई उत्पादनमुखी बनाउँदै किसानलाई मल–बिउ सहज उपलब्ध गराउन पहल गर्ने, तिलोत्तमा र सैनामैना क्षेत्रमा सिंचाइ सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्ने योजना उनले अघि सारे।
    बेरोजगार युवा–युवतीलाई लक्षित गरी उद्योग स्थापना गर्ने, ‘एक घर एक रोजगार’ अवधारणा लागू गर्ने तथा युवालाई डिजिटल प्रविधिमा दक्ष बनाउने कार्यक्रम पनि सार्वजनिक गरियो। प्रत्येक चोक–चोकमा डिजिटल फ्री वाइफाइ र सिसी क्यामेरा जडान गरिने तथा आवश्यक स्थानमा चार्जिङ स्टेशन स्थापना गरिने प्रतिबद्धता उनले व्यक्त गरे।
    वातावरण संरक्षण र नदी करिडोर :
    सडकमा छाडा चौपायाका कारण हुने दुर्घटना न्यूनीकरण गर्न गोशाला तथा चिडियाघर निर्माण गर्ने, कृषिका लागि मल तथा औषधि उत्पादन गर्ने योजना उनले सुनाए।
    तिनाउ र दानव नदी किनारलाई व्यवस्थित गर्दै हराभरा, स्वच्छ र सुन्दर करिडोर निर्माण गरिने तथा बुटवलबाट बगेर आउने फोहोर नियन्त्रणका लागि योगिकुटी पुल क्षेत्रमा हाइड्रोलिक जाली राखिने प्रतिबद्धता पनि उनले जनाए।
    सामाजिक सुरक्षा र पारदर्शिता :
    नेपालबाट पेन्सनमा निस्किएका राष्ट्रसेवक कर्मचारी र उनका परिवारलाई वृद्धभत्ता उपलब्ध गराउन पहल गर्ने, उद्योग–व्यवसायमा लगानी वृद्धि र दोहोरो कर प्रणाली हटाउन कानुनी प्रवन्ध सुदृढ गर्ने उनले बताए।
    निर्वाचित भएमा प्रतिनिधि सभा सदस्यका रूपमा प्राप्त हुने सेवा–सुविधाको सम्पूर्ण रकम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा पनि उनले गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, फाल्गुण ५ २०८२०२:१८:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology